१७ जेठ २०८३ आईतबार | 31 May 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

श्रम स्वीकृति नलिई विमानस्थल नआउन अध्यागमनको आग्रह



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ३९
  • काठमाडौं, जेठ १७ - अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति प्राप्त गरेपछि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा प्रक्रियाका लागि उपस्थित हुन आग्रह गरेको छ।

    आइतबार जारी विज्ञप्तिमा विभागले श्रमिक भिसामा विदेश जान लागेका केही व्यक्तिले श्रम स्वीकृतिका लागि आवेदन दिएपछि मात्र प्रक्रिया पूरा भएको ठानी विमानस्थल पुग्ने गरेको जनाएको छ। तर, आवेदन दर्ता हुनु मात्रै पर्याप्त नभई सम्बन्धित निकायबाट श्रम स्वीकृति जारी भइसकेको हुनुपर्ने विभागको भनाइ छ।

    विभागका अनुसार कतिपय अवस्थामा श्रमिकले अन्य व्यक्ति वा संस्थामार्फत श्रम स्वीकृतिका लागि निवेदन दिएका हुन्छन्, तर स्वीकृति प्राप्त भए–नभएकोबारे उनीहरू आफैं अनभिज्ञ रहने गरेका छन्। यसले गर्दा विमानस्थलमा पुगेर यात्रामा अवरोध सिर्जना हुने गरेको विभागले उल्लेख गरेको छ।

    अध्यागमनले श्रमिक भिसामा विदेश जाने सबै नेपालीलाई यात्रा अघि आफ्नो श्रम स्वीकृति जारी भएको यकिन गर्न आग्रह गरेको छ। श्रम अनुमति प्रक्रियामा आवेदन मात्र परेको तर स्वीकृति प्राप्त नभएको अवस्थामा भने अध्यागमनबाट विदेश प्रस्थानको अनुमति दिन नसकिने विभागले स्पष्ट पारेको छ।