१७ जेठ २०८३ आईतबार | 31 May 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ब्ल्याकमेलिङ आरोपमा फरार रहेकी तुलसा अधिकारी पक्राउ, थाइल्यान्डबाट नेपाल ल्याइयो



  • अञ्जना ढकाल
  • १३ घण्टा अघि
  • पाठक संख्या ६०
  • काठमाडौं, जेठ १७ - सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति नेपाल ल्याइएको हो। उनीविरुद्ध यसअघि नै ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ।

    प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा अधिकारीलाई पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध रेड नोटिससमेत जारी गरिएको थियो। अब उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

    सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

    ललितपुरका एक व्यवसायीले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। जाहेरीमा अधिकारीले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको र त्यसक्रममा ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी लिएको आरोप उल्लेख गरिएको छ।

    प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।