१६ जेठ २०८३ शनिबार | 30 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रिक्त राजदूत पदका लागि आवेदन खुला, के के चाहिन्छ योग्यता?



  • अञ्जना ढकाल
  • १५ घण्टा अघि
  • पाठक संख्या ३६
  • काठमाडौँ, जेठ १५ - परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि रिक्त रहेको नेपालको राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मन्त्रालयले नेपालको परराष्ट्र सम्बन्धलाई प्रभावकारी र परिणाममुखी बनाउन योग्य नेपाली नागरिकबाट दरखास्त मागेको जनाएको हो ।

    मन्त्रालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले स्वयं आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । आवेदन बुझाउने अन्तिम समय आगामी जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको छ ।

    राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

    यसका साथै उम्मेदवारले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) वा अन्य अध्यागमन सुविधा लिएको हुनु नहुने उल्लेख गरिएको छ । अङ्ग्रेजी भाषामा राम्रो दक्खल आवश्यक रहने र सम्बन्धित मुलुकको आधिकारिक भाषा जान्ने व्यक्तिलाई थप योग्य मानिने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले नैतिक आचरण र पृष्ठभूमिलाई पनि विशेष महत्व दिएको छ । सरकारी सेवाबाट बर्खास्त नभएको, भ्रष्टाचार वा नैतिक पतन देखिने कसुरमा सजाय नपाएको तथा कुनै पनि सरकारी वा अन्तर्राष्ट्रिय संस्थाको कालोसूचीमा नपरेको व्यक्ति मात्रै राजदूत पदका लागि योग्य हुनेछन् ।

    विदेशी सरकारको वैतनिक पदमा काम गरेको भए त्यस्तो जिम्मेवारी छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्ति पनि आवेदनका लागि अयोग्य ठहरिनेछन् ।

    परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र तथा जनप्रशासनजस्ता विषयमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ । कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्तासम्बन्धी अनुभव र तालिम भएका व्यक्तिको दाबेदारी थप बलियो मानिने उल्लेख छ ।

    मन्त्रालयका अनुसार राजदूतले राजनीतिक, आर्थिक, सांस्कृतिक र कन्सुलर कूटनीतिका क्षेत्रमा काम गर्नुपर्नेछ । नेपालमा वैदेशिक लगानी भित्र्याउने, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, विदेशमा रहेका नेपालीको हित संरक्षण गर्ने तथा नेपालको सकारात्मक छवि निर्माण गर्ने जिम्मेवारी पनि राजदूतको हुनेछ ।

    इच्छुक उम्मेदवारले मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई छनोट गरी थप प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ ।