काठमाडौं, जेठ १८ - नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइलाई “चरम अपरिपक्व र राष्ट्रहित विपरीत” भन्दै आलोचना गरे।
राईले प्रधानमन्त्रीले रोस्ट्रमबाट नेपालले पनि भारतको भूमि मिचेको उल्लेख गरेको विषयले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको दाबी गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले नेपालले भारतसँग गर्दै आएको सीमा दाबीसमेत प्रभावित हुन सक्नेछ।
“रोस्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतको जग्गा मिचेको छ भन्नुभयो। यो संसद्को अभिलेखमा कायम छ र नजिरका रूपमा स्थापित भएको छ,” राईले भने।
उनले सत्ता पक्षका सांसदहरूले उक्त भनाइमा ताली बजाएकोप्रति पनि प्रश्न उठाउँदै त्यसलाई आत्मचिन्तन गर्नुपर्ने बताए।
राईले प्रधानमन्त्रीलाई पुनः संसद्मा उपस्थित भएर नेपालले भारतको कुन–कुन क्षेत्रमा भूमि अतिक्रमण भएको हो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न माग गरे। “नेपालले कहाँ–कहाँ भारतको जग्गा मिच्यो, एक–एक इन्चको हिसाब चाहिन्छ,” उनले भने।
उनले यस्तो विषय राष्ट्रिय सुरक्षा र स्वाभिमानसँग जोडिएको भन्दै गम्भीरतापूर्वक स्पष्टिकरण आवश्यक रहेको बताए।
साथै, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “क्रस बोर्डर अकुपेसन” सँग सम्बन्धित भनेर व्याख्या गरेकोमा पनि उनले असहमति जनाए। राईका अनुसार सीमासम्बन्धी विषयलाई यसरी व्याख्या गर्नु गलत बुझाइ हो।
उनले अन्त्यमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालले भारतसँग उठाउँदै आएको सीमा अतिक्रमणसम्बन्धी दाबी कमजोर हुने र नेपाललाई नै अतिक्रमणकारी रूपमा देखाउन सक्ने खतरा रहेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस