काठमाडौं, जेठ २१ - कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासी भेषबहादुर दर्जीको उपचारका क्रममा निधन भएको छ। उनको बिहीबार वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएको परिवारले जनाएको छ।
दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए। होल्डिङ सेन्टरमै बसिरहेका बेला उनको स्वास्थ्य अवस्था अचानक जटिल बनेपछि परिवारले तत्काल उपचारका लागि वीर अस्पताल पुर्याएको थियो।
अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।
दर्जीकी पत्नी विमला सुनुवारका अनुसार परिवारमा तीन जना सदस्य छन्। उनको निधनपछि परिवार शोकमा डुबेको छ।
परिवारले दर्जीको अन्त्येष्टि आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा गर्ने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस