२२ जेठ २०८३ शुक्रबार | 05 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सन्तोष परियार र बाबुराम पक्षबीच बढ्यो दूरी



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ५०
  • काठमाडौं, जेठ २१ - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रको आन्तरिक विवाद सार्वजनिक रूपमै सतहमा आएको छ। पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वको सचिवालय बैठकले पार्टीका संरक्षक डा. बाबुराम भट्टराईबारे गरेको निर्णयपछि दुई पक्षबीचको मतभेद थप गहिरिएको देखिएको छ।

    हालै बसेको सचिवालय बैठकले डा. भट्टराईले पार्टी नेतृत्वविरुद्ध अराजक तथा स्तरहीन टिप्पणी गरेको निष्कर्ष निकाल्दै त्यसप्रति खेद प्रस्ताव पारित गरेको थियो। बैठकपछि सार्वजनिक गरिएको निर्णयमा भट्टराईले संगठनात्मक जिम्मेवारीबाट अलग रहने जानकारी दिएपछि पार्टीले सम्मानपूर्वक विदाइ गरेको उल्लेख गरिएको छ। साथै, पार्टीमा संलग्न नरहे पनि नेतृत्वमाथि गरिएको टिप्पणी अनुचित भएको निष्कर्ष निकालिएको छ।

    तर उक्त निर्णयप्रति डा. भट्टराई निकट नेताहरूले कडा असहमति जनाएका छन्। भट्टराई पक्षका नेता कृष्ण शर्माले सीमित व्यक्तिहरूको सहभागितामा सम्पन्न बैठकको निर्णयलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने बताएका छन्। उनले पार्टीका जिम्मेवार पदाधिकारीहरूलाई जानकारी नै नदिई जारी गरिएको वक्तव्य संगठनात्मक तथा राजनीतिक रूपमा औचित्यहीन रहेको दाबी गरेका छन्।

    शर्माले डा. भट्टराईप्रति गरिएको टिप्पणीलाई निराधार, अपरिपक्व र गैरजिम्मेवार अभिव्यक्ति भन्दै त्यसले पार्टीभित्रको संकीर्ण सोच र अवसरवादी प्रवृत्तिलाई उजागर गरेको टिप्पणी गरे। उनका अनुसार वैचारिक मतभिन्नता स्वाभाविक भए पनि व्यक्तिगत रूपमा लक्षित आरोप–प्रत्यारोपले पार्टीलाई कमजोर बनाउनेछ।

    यता, भट्टराई निकट अर्का नेता रोशन पोखरेलले पनि अध्यक्ष परियारमाथि प्रश्न उठाएका छन्। उनले परियारले यसअघि सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरिसकेको दाबी गर्दै अहिले पार्टीको नाममा वक्तव्य जारी गर्नु नैतिक रूपमा उचित नभएको बताएका छन्। तर परियारले भने आफूले पार्टी नछाडेको अडान दोहोर्याउँदै आएका छन्।

    डा. भट्टराईले यसअघि पुस्तान्तरणको पक्षमा रहेको उल्लेख गर्दै कार्यकारी र संगठनात्मक जिम्मेवारीबाट अलग रहने निर्णय गरिसकेको अवस्थामा उनीमाथि गरिएको आलोचना अनावश्यक र हास्यास्पद भएको भट्टराई पक्षको भनाइ छ। उनीहरूका अनुसार पार्टीभित्र चर्चामा आउनका लागि उच्च नेतृत्वमाथि अनावश्यक टिप्पणी गरिएको हो।

    यसैबीच, सचिवालय बैठकले पार्टीको एकता महाधिवेशन आगामी असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारीबारे थप निर्णय लिन आयोजक समितिको बैठक साउनको तेस्रो सातामा बस्ने बताइएको छ।

    बैठकले विभिन्न वामपन्थी तथा प्रगतिशील समाजवादी शक्तिहरूसँग एकता र ध्रुवीकरणको पहल गर्न अध्यक्ष परियारको संयोजकत्वमा संवाद समिति गठन गरेको छ। समितिमा जनार्दन शर्मा, राम कार्की, डा. जनक शाह, कृष्ण केसी र जटिल कार्की सदस्य रहेका छन्।

    त्यसैगरी, बैठकले संसद्मा प्रधानमन्त्री बालेन शाहले व्यक्त गरेको भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खेद प्रस्ताव समेत पारित गरेको जनाएको छ।