पाँचथर, जेठ २१ - नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले पार्टीको साधारण सदस्यता त्याग्दै आफ्नो राजनीतिक यात्रा नयाँ मोडमा लैजाने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै कांग्रेससँगको आफ्नो लामो सम्बन्ध अन्त्य भएको बताएका हुन्।
राई अब श्रमशक्ति पार्टीमा आबद्ध हुने तयारीमा छन्। पार्टी स्रोतका अनुसार उनलाई आगामी जेठ २३ गते पाँचथरको जेभालेमा आयोजित विशेष कार्यक्रममा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले औपचारिक रूपमा पार्टी प्रवेश गराउनेछन्। कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको जनाइएको छ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय छवि बनाएका राईको बहिर्गमनले पाँचथर कांग्रेसमा केही प्रभाव पार्ने आकलन गरिएको छ। अर्कोतर्फ, उनको आगमनलाई श्रमशक्ति पार्टीले संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
राईले नयाँ राजनीतिक यात्रामार्फत सामाजिक सेवा र जनसरोकारका मुद्दामा अझ सक्रिय रहने बताएका छन्। उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जिल्ला सहसचिवमा निर्वाचित भएका थिए। साथै, पार्टीभित्र विशेष महाधिवेशनको माग उठाउँदा पनि उनी अग्रपंक्तिमा देखिएका नेतामध्ये एक थिए।
प्रतिक्रिया दिनुहोस