२२ जेठ २०८३ शुक्रबार | 05 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिरासतमा पुगेका सुधन गुरुङमाथि थुनुवालाई धम्क्याएको आरोप, प्रहरी किन मौन?



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, जेठ २२ - कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको दाबी गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेका युवालाई पक्राउ गरेपछि पूर्वगृहमन्त्री सुधन गुरुङ प्रहरी वृत्त सोह्रखुट्टे पुगेको प्रहरीले पुष्टि गरेको छ।

    प्रदर्शनमा संलग्न युवालाई भेट्न पुगेका गुरुङले हिरासतभित्रै गएर धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाउँदै राष्ट्रिय जेन्जी नागरिक अभियानले विज्ञप्ति जारी गरेको थियो। अभियानले गुरुङले प्रदर्शनकारीसँग गालीगलौज तथा मानसिक दबाब सिर्जना गर्ने खालका अभिव्यक्ति दिएको दाबी गरेको छ।

    यद्यपि, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले गुरुङ प्रहरी वृत्त पुगेको स्वीकार गरे पनि त्यहाँ के संवाद भयो भन्नेबारे आफूहरूलाई स्पष्ट जानकारी नभएको बताए। “उहाँ त्यहाँ जानुभएको हो, तर के कुरा भयो भन्ने यकिन जानकारी छैन,” भट्टराईले भने।

    अभियानद्वारा सार्वजनिक विज्ञप्तिअनुसार गुरुङले प्रदर्शनकारीलाई ‘तपाईंहरू कसको निर्देशनमा चल्नुभएको हो ?’, ‘यो अन्तिम अवसर हो’ तथा ‘अब सरकारले समातेमा छुटकारा पाउन गाह्रो हुन्छ’ जस्ता अभिव्यक्ति दिएका थिए।

    विज्ञप्तिमा प्रहरी हिरासतमा रहेका नागरिकमाथि कुनै पनि राजनीतिक प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र कानुनी शासनको मर्मविपरीत हुने उल्लेख गरिएको छ।

    प्रहरीका अनुसार भारतीय दूतावास आसपासको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि केही युवालाई नियन्त्रणमा लिएर सोह्रखुट्टे वृत्तमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई केही समयपछि रिहा गरिएको प्रहरीले जनाएको छ।