काठमाडौं, जेठ २४ - अभिनेता तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ भरतपुर क्रिकेट रंगशाला निर्माणका क्रममा बाँकी रहेको १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयमा सरकारसँग छलफल गर्न नेपाल फर्किएका छन्।
उनले रंगशाला निर्माणमा संलग्न निर्माण व्यवसायी तथा सहयोगीहरूलाई न्याय दिलाउन आफू सक्रिय रूपमा पहल गरिरहेको बताएका छन्।
कट्टेलका अनुसार विगत पाँच वर्षदेखि सम्बन्धित निकायमा धाउँदा पनि समस्या समाधान नभएको भए पनि वर्तमान सरकारबाट सकारात्मक पहल हुने अपेक्षा रहेको छ। उनले आफूले रंगशाला निर्माणसहित गरेका सबै काम राष्ट्रको हितका लागि भएको दाबी गर्दै सम्पूर्ण प्रक्रिया पारदर्शी र अनुमानित लागतभन्दा कम खर्चमा सम्पन्न गरिएको बताए।
प्रधानमन्त्रीसँग भेट गरी रंगशाला निर्माणसँग सम्बन्धित वास्तविक अवस्था र आफूले भोगेका समस्याबारे जानकारी गराउने तयारी रहेको उनले बताए। देश र समाजका लागि निस्वार्थ रूपमा काम गरेको उल्लेख गर्दै कट्टेलले अमेरिकामा स्थायी रूपमा बस्ने कुनै योजना नरहेको स्पष्ट पारे।
आफ्नो अमेरिका बसाइ छोरीको उपचारका कारण भएको बताउँदै उनले यस विषयमा बाहिर आएका विभिन्न अफवाह र भ्रमपूर्ण समाचारप्रति असन्तुष्टि जनाएका छन्।
आफूलाई कलाकारिता र यही देशले चिनाएको भन्दै नेपालको विकास र समाजसेवामा निरन्तर योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस