२५ जेठ २०८३ सोमबार | 08 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राम्रो कामलाई समर्थन गर्न विपक्षी दलहरू पनि तयार हुनुपर्छ : गुरुङ



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ३५
  • गोरखा, जेठ २४ - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुधन गुरुङले प्रतिपक्ष दलहरू केवल विरोधमा सीमित हुन नहुने बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले देश र जनताको हितमा हुने काममा सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने धारणा राखे।

    उनले राम्रो कामको समर्थन गर्नु लोकतान्त्रिक संस्कृतिको हिस्सा भएको उल्लेख गर्दै विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्तिले देशको विकासमा बाधा पुग्ने बताए। देश निर्माणका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो।

    गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू दृढ रहेको बताए। जनताले आफूलाई केवल जिताएर पठाएको नभई कामको अपेक्षा गरेको उल्लेख गर्दै उनले विकास र जनताका समस्याको समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।

    निर्वाचन क्षेत्रका नागरिकका गुनासा र समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न छिट्टै सचिवालय स्थापना गरी सेवा प्रवाहलाई व्यवस्थित बनाइने उनले जानकारी दिए।

    जिल्लामा पर्याप्त बजेट नआएको गुनासो बारम्बार सुन्नुपरेको उल्लेख गर्दै गुरुङले विकासका स्रोत–साधनको वितरणमा समग्र दृष्टिकोण आवश्यक रहेको बताए। आफ्ना आवश्यकता मात्र नभई अन्य क्षेत्रको अवस्था पनि बुझ्नुपर्ने भन्दै उनले सन्तुलित विकासमा जोड दिए।