काठमाडौं, असार ५ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नियमिततर्फ सहभागी विद्यार्थीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेडेड भएका छन्।
जीपीएका आधारमा हेर्दा ३.६१ देखि ४.०० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना विद्यार्थी रहेका छन्।
यसैगरी २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५० हजार ५९७ रहेको छ। २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना छन् भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ जना मात्र रहेको बोर्डले जनाएको छ।
आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। आंशिकतर्फको ग्रेडेड प्रतिशत ४२.३८ रहेको छ। नियमित र आंशिक दुवैतर्फ गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। समग्रमा ग्रेडेड प्रतिशत ६४.१३ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ।
बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जनाको परीक्षा रद्द गरिएको छ।
नतिजा कसरी हेर्ने?
वेबसाइटमार्फत :
राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np वा neb.gov.np मा गई नतिजा हेर्न सकिन्छ।
नेपाल टेलिकमको neb.ntc.net.np वेबसाइटबाट पनि परीक्षाफल प्राप्त गर्न सकिन्छ।
एसएमएसमार्फत :
मोबाइलको मेसेज बक्समा NEB लेखी एक स्पेस दिएर आफ्नो Symbol Number टाइप गरी १६०० नम्बरमा पठाउनुपर्छ।
आईभीआर सेवामार्फत :
नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी प्राप्त निर्देशन पालना गरेर नतिजा थाहा पाउन सकिन्छ।
यूएसएसडी सेवामार्फत :
मोबाइलबाट *1601# डायल गरी स्क्रीनमा देखाइने निर्देशनअनुसार नतिजा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस