५ असार २०८३ शुक्रबार | 19 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पार्टीभित्र निराशा र भ्रमको राजनीति नगर्न प्रचण्डको निर्देशन



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ३०
  • काठमाडौं, असार ५ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनावश्यक निराशा र भ्रम फैलाउने गतिविधिबाट जोगिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक उपलब्धिमाथि प्रहार गर्ने शक्तिहरू अझै सक्रिय रहेको बताए। उनले यस्ता शक्तिहरूले परिवर्तनका पक्षमा उभिएका राजनीतिक दलहरूलाई कमजोर बनाउन विभिन्न प्रयास गरिरहेको दाबी गरे।

    प्रचण्डले पार्टी, आन्दोलन र नेतृत्वविरुद्ध नकारात्मक वातावरण सिर्जना गर्ने काम भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीभित्रकै केही व्यक्तिहरू अनजानमै संलग्न हुने गरेको बताए। उनले यस्तो प्रवृत्तिले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने चेतावनी दिए।

    उनले वर्तमान सरकारको नीति, कार्यक्रम र बजेट श्रमिक, किसान तथा निम्न आय वर्गका नागरिकको हितमा नभएको आरोप लगाए। सरकारका गतिविधिहरू जनताका मौलिक अधिकार तथा श्रमिक अधिकारप्रति संवेदनशील नभएको उनको भनाइ थियो।

    संयोजक प्रचण्डले श्रमिक, किसान र आम जनताको हितविपरीत हुने कुनै पनि कदमविरुद्ध पार्टीले विभिन्न मोर्चामार्फत आवाज उठाउने बताए। उनले जनताका अधिकारको रक्षाका लागि संघर्ष जारी रहने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले पार्टीलाई जनमुखी एजेण्डाका साथ अघि बढाइने बताए। उनले सामाजिक तथा आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर संगठन विस्तार गरिने र नेता–कार्यकर्तालाई आवश्यक प्रशिक्षण प्रदान गरी पार्टीको नीति जनतामाझ प्रभावकारी रूपमा पुर्‍याइने जानकारी दिए।