१६ असार २०८३ मंगलबार | 30 Jun 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जर्मनीमाथिको ऐतिहासिक जितपछि पाराग्वेमा सार्वजनिक बिदा



  • एजेन्सीको सहयोगमा
  • ३ घण्टा अघि
  • पाठक संख्या २९
  • फक्सबरो, असार १६ - फिफा विश्वकप फुटबलमा चार पटकको विश्वविजेता जर्मनीलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएपछि पाराग्वेभर उत्सवको माहोल छाएको छ। टोलीको ऐतिहासिक सफलताको सम्मानस्वरूप राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन्।

    सोमबार राति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा पाराग्वेले ४–३ को जित निकाल्दै विश्व फुटबलकै चर्चित उलटफेरमध्ये एक नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

    जितपछि राष्ट्रपति पेनाले सामाजिक सञ्जाल एक्समार्फत बिदासम्बन्धी निर्णयमा हस्ताक्षर गरिरहेको तस्वीर सार्वजनिक गर्दै सम्पूर्ण देशका लागि यो गर्वको क्षण भएको बताएका छन्। उनले यो सफलताले पाराग्वेली नागरिकको साहस, आत्मविश्वास र कहिल्यै हार नमान्ने भावनालाई विश्वसामु उजागर गरेको उल्लेख गरेका छन्।

    सरकारद्वारा जारी आदेशमा पाराग्वेको यो उपलब्धि केवल खेलकुदको सफलता नभई राष्ट्रिय गौरवको विषय भएकाले नागरिकले खुलेर उत्सव मनाउन सकून् भन्ने उद्देश्यले सार्वजनिक बिदा दिइएको जनाइएको छ। आदेशमा सरकारले यस्तो ऐतिहासिक उपलब्धिलाई विशेष सम्मानका साथ मनाउनुपर्ने उल्लेख गरिएको छ।

    यससँगै विश्वकपमा जर्मनीलाई पराजित गरेपछि सार्वजनिक बिदा घोषणा गर्ने पाराग्वे दोस्रो दक्षिण अमेरिकी राष्ट्र बनेको छ। यसअघि समूह चरणमा जर्मनीलाई २–१ ले हराउँदै नकआउट यात्रा तय गरेको अवसरमा इक्वेडरले पनि देशभर सार्वजनिक बिदा दिएको थियो।