काठमाडौं, असार १५ - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले नयाँ पार्टी गठन गर्न लागेको वा पार्टी विभाजनको तयारी गरिरहेको भन्ने चर्चा निराधार र भ्रामक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जीवनभर गुटबन्दीको राजनीति नगरेको र भविष्यमा पनि पार्टी फुटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारे।
खनालले केही व्यक्तिले आफूविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार फैलाएको आरोप लगाउँदै त्यस्ता भ्रमपूर्ण गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे। उनले समाजवादी आन्दोलनभित्र देखिएका वैचारिक अन्योल, विचलन र असमझदारीलाई खुला बहस र विचार–विमर्शमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार अहिलेको लोकतान्त्रिक व्यवस्थाको पूर्ण उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्न जरुरी छ। यही उद्देश्यका साथ आफूले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक तयार पारेको उनले बताए।
खनालले राजनीतिक मतभेदलाई आधार बनाएर भ्रम र अफवाह फैलाउने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने भन्दै जिम्मेवार राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए। साथै, आफूले कहिल्यै गुट निर्माण नगरेको र पार्टी फुटाउने विषयसँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै कुप्रचारको राजनीति नगर्न सबैलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस