काठमाडौं, असार २१ - गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।
शुक्रबार राति विमानस्थलको निरीक्षणका क्रममा उनले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले पहिलो पटक अध्यागमन कार्यालयसँग सम्पर्क गर्ने भएकाले कर्मचारीको पोसाक, आचरण र सेवा प्रवाहले मुलुकको छवि प्रस्तुत गर्ने बताए। त्यसैले राष्ट्रिय पहिचान र नेपाली मौलिक संस्कृतिलाई झल्काउने उद्देश्यले ढाका टोपी अनिवार्य लगाउने व्यवस्था गर्न निर्देशन दिइएको हो।
गृहमन्त्री गुरुङले सेवामा अनुशासन, मर्यादा र सेवाग्राहीमैत्री व्यवहारलाई थप प्रभावकारी बनाउँदै नेपालीपनको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न यस्तो कदम चालिएको बताएका छन्।
सरकारले यसअघि जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ मा पनि सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीले सम्भव भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोशाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, सार्वजनिक निकायबाट प्रदान गरिने उपहारमा समेत स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस