डोल्पा, असार २१ - डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजे आएको बाढीका कारण घरभित्र सुतिरहेकी अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक पुरिएकी थिइन्। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उनको उद्धार गरी स्वास्थ्य चौकी झ्याँकोट पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीमा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जनालाई उपचारपछि घर फर्काइएको छ।
घटनापछि तनावका कारण मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक बेहोस भएका छन्। उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीले एक घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली उद्धार तथा क्षतिको विवरण संकलनमा खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस