१९ असार २०८३ शुक्रबार | 03 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कर्णालीमा खसेको फोर्स गाडी अझै बेपत्ता, २४ घण्टापछि पनि यात्रुको संख्या अन्योलमै



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या १८
  • दैलेख, असार १९ - दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडीको खोजी कार्य जारी रहे पनि दुर्घटना भएको २४ घण्टाभन्दा बढी समय बित्दा पनि गाडी फेला पर्न सकेको छैन। गाडीमा सवार यात्रुको वास्तविक संख्या समेत अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

    बिहीबार बिहान कर्णाली राजमार्गअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ मा भएको दुर्घटनामा परेको बुलबुले यातायात प्रालिको फोर्स गाडी करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार प्रारम्भिक अनुमानमा गाडीमा ५–६ जना यात्रु रहेको हुन सक्ने देखिए पनि आधिकारिक विवरण संकलन भइरहेको छ। सुर्खेतदेखि साङ्गेतडासम्मका विभिन्न चेकपोस्टको अभिलेखसमेत अध्ययन गरेर यात्रुको संख्या यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोर र अन्य सुरक्षाकर्मी गरी ५० भन्दा बढी जनशक्ति खोज तथा उद्धारमा परिचालित छन्। तर नदीको तीव्र बहाव, वर्षाका कारण धमिलो बनेको पानी र दुर्घटनास्थलको भौगोलिक जटिलताले उद्धार कार्य प्रभावित भएको छ।

    खोजीका क्रममा हालसम्म गाडीका केही सिट र मोबाइल फोन मात्र भेटिएका छन्। साथै भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाको रूपमा भएको प्रहरीले जनाएको छ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ भने नदीमा हराएको गाडी र सम्भावित अन्य यात्रुको खोजी तीव्र बनाइएको छ।