१९ असार २०८३ शुक्रबार | 03 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अध्यादेश निष्क्रिय हुनुअघि संवैधानिक नियुक्तिको तयारी, आजै निर्वाचन आयोगमा सिफारिस हुने सम्भावना



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २५
  • काठमाडौं, असार १९ - संवैधानिक परिषद्सम्बन्धी अध्यादेश निष्क्रिय हुने समय नजिकिएसँगै सरकारले संवैधानिक निकायका नियुक्ति प्रक्रिया अघि बढाउन तीव्रता दिएको छ। यही क्रममा प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

    सरकारले वैशाख २२ गते जारी गरेको अध्यादेशले ६ सदस्यीय परिषद्मा प्रधानमन्त्रीसहित तीन सदस्य उपस्थित भए निर्णय गर्न सकिने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार यसअघि प्रधानन्यायाधीश पदमा मनोज शर्मालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको थियो।

    संविधानअनुसार संसद् अधिवेशन नरहेको अवस्थामा ल्याइएको अध्यादेश अधिवेशन सुरु भएको ६० दिनभित्र संघीय संसद्का दुवै सदनबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ। तर राष्ट्रिय सभामा आवश्यक समर्थन नजुटेपछि उक्त अध्यादेश स्वीकृत हुन सकेन। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलले अध्यादेशविरुद्ध विरोधको सूचना दर्ता गरेका छन्।

    संविधानको धारा ११४ अनुसार दुवै सदनबाट स्वीकृत नभएको अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। वैशाख २८ गते संसद् अधिवेशन सुरु भएकाले अध्यादेश असार २७ भित्र अनुमोदन हुनुपर्ने थियो।

    स्रोतका अनुसार अध्यादेश निष्क्रिय हुनुअघि नै संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका अन्य दुई आयुक्तको नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ।