लुम्बिनी - बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतिले अस्वीकृत भएको छ । भारतको नयाँ दिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसनअन्तर्गत बिहीबार मस्यौदामाथि छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।
नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा. गणेशप्रसाद पाण्डेय सहितको टोली ४६औँ सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो ।
वर्ल्ड हेरिटेज कमिटीका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधि लुम्बिनी विश्वकै अनुपम महत्त्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने तर खतराको सूचीमा राख्न नहुने बताएका थिए ।
बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदामा भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरू उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखि चेतावनी दिँदै आएको थियो । सन् २०२२ मा पत्र नै पठाएर सचेत गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस