६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हराएको बस खोज्न ल्याइएको १९ किलोको चुम्बक नै हरायो



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २३३
  • नारायणगढ – मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ।

    बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले  नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो।

    सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

    उनका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलोको चुम्बक खोजतलासका क्रममा हराएको हो। ‘खोजी गर्न क्रममा पानीले बगाएछ।’ उनले भने।

    सहायक अधिकारीले भारतीय टोलीसहितको उपकरणले खोजी गर्दा पनि दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति नदेखिएको सुनाए। अब खोजी कार्य जारी राख्ने कि स्थगित गर्ने भन्नेबारे भोलि छलफल गरिने उनको भनाइ छ।  ‘शवहरू पनि फेला पर्न छोडे। अब थप खोजी गर्न कि नगर्ने भन्नेबारे हाम्रो र भारती टोली दुवै बसेर भोली निर्णय गर्नेछौँ।’ उनले भने।

    गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

    उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। अझै दुई बससँगै अधिकांश यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।