८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्यसपछि मैले पनि विदेश जाने सोचें

उच्च पारिश्रमिक र कामको सम्मान नपाएकाले लाखौं नेपाली विदेश जान बाध्य छन्।



Anjana Dhakal
  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ३११
  • झण्डै ७ बजिसकेको थियो जब मेरो आँखा खुल्यो। मलाई सधैं चाँडै उठाउने ममी म उठ्दा हुनुहुन्नथ्यो। ममीलाई नदेखेर मैले बुवालाई सोधें, "बुवा, ममी कहाँ हो आज?" बुवाले भन्नुभयो, "तिम्री ममी माटो लिन गएकी छिन्।" यो सुनेर म छक्क परें र सोचेँ, "हाम्रो घरमा माटो किन चाहियो त?" बुवालाई सोधेँ, "माटो किन चाहियो?" बुवाले हाँस्दै भन्नुभयो, "आज घटस्थापना हो, तिम्री ममी जमरा राख्न माटो लिन गएकी छिन्। आजदेखि दशैं सुरु भयो।"

    त्यसपछि म सोचमग्न भएँ र बाल्यकालका ती दिनहरूको सम्झना गर्न थालें। दशैंको योजना त महिनौं अघिदेखि बनाइन्थ्यो, नयाँ लुगा लगाएर गाउँ डुल्न जानु, साथीहरूसँग पिङ खेल्नु, अनि टिका लगाएर कति पैसा पाएँ भनेर गर्व गर्नुपर्ने ती दिनहरू। दशैंमा मामाघर जान झगडा गर्ने दिनहरू कति रमाइलो थिए। तर अब ती खुशी कहाँ छन्? अहो, म त ठूली भइसकेछु, बाल्यकाल छोडेर परिपक्व भएपछि ती खुशी खोजेर पनि भेटिंदैन रहेछ।

    म सँगै हुर्कियाका धेरै साथीहरू अहिले पैसा कमाउन विदेश गइसकेका छन्। म भने नेपालमै कर्तव्य र जिम्मेवारीको बिचमा अल्झिएको छु। दिनको ८–१० घण्टा काम गरेर थोरै पैसा कमाइरहेको छु। एक दिन मेरो बाल्यकालको साथीलाई भेटें, ऊ भर्खरै अस्ट्रेलियाबाट दशैँ मनाउन नेपाल आएको रहेछ। लामो समयपछि भेट हुँदा उसले फोटो खिच्न आग्रह गर्‍यो। मसँग सस्तो मोबाइल थियो, त्यो देखेर उसले हाँस्दै भन्यो, "अहिलेको जमाना पनि यस्तो मोबाइल चलाउँछस्? हेर मेरो आइफोन छ, नयाँ १६ प्रो, धेरै महँगोमा किनेको। मैले त ममी र बुवा लाई पनि आइफोन ल्याईदियको छु अहिले यस्तो मोबाइल कसले चलाउछ र । आइज यसबाट फोटो खिचौं। " 

    फोटो खिचेर ऊ गयो, तर उसको कुरा सुनेर म भाबुक भएँ। उसले बिदेशमा काम गरेर काठमाडौँमा घडेरी किनी सकेको रहेछ । मैले घण्टौं दुख गरेर कमाएको पैसाले किनेको यो मोबाइलका लागि मैले ३ महिना बचत गरेको थिएँ। सँगै हुर्किएका हामी, पढाइमा म ऊभन्दा अब्बल थिएँ। नेपालमै केही गर्छु भनेर बसेको म, अझैसम्म बुवाआमालाई आफ्नै कमाइले केही दिन सकेको छैन। म जति दुख गरे पनि पारिश्रमिक त्यति थिएन। त्यसपछि सोच्न बाध्य भएँ, "म् नेपालमै किन बसेँ? नेपालले मलाई के दियो?" म पनि बेलैमा विदेश गएको भए, अहिले आइफोन देखाउँदै हिँड्थें, ममी-बुवालाई सुख दिन सक्थें होला।

    त्यसपछि मैले पनि विदेश जाने सोचें। म जस्तै धेरै नेपाली अहिले संघर्ष गर्दै छन्। उच्च पारिश्रमिक र कामको सम्मान नपाएकाले लाखौं नेपाली विदेश जान बाध्य छन्। नेपाल सरकारले रोजगार सृजना गर्न नसक्दा धेरैले विदेश जाने सोच बनाएका छन्। देशमा रोजगारीको अवसर र कामको सम्मान नपाएर खेती किसानी गर्नेहरू पनि आफ्ना सामानको उचित मूल्य र बजार नपाएर लाखौंको फलफुल फाल्न बाध्य छन्। बेला बेलामा किसानहरु आफ्नो दुख गरेर उब्जाएको फलफुल र तरकारीहरु सडकमा फालेर बिरोध गर्ने गर्दछन । नेपाल सरकारले विदेशी वस्तुको आयात रोकेर आफ्नै देशको उत्पादनलाई प्रोत्साहन गर्न सके, र देशमै रोजगारी सृजना गरि दुख गरे अनुसार पारिश्रमिकको ब्यबस्था गर्न सके बिदेश गएका नेपालीहरू पनि स्वोदेश फिर्ता आउँथे र हामीले आफ्नै मातृभूमिमा खुशीसाथ जीवन बिताउन सक्थ्यौं।