आखिर मलाई यो देशको माया किन लाग्छ जहाँ म व्यक्तिगत खुशी हेर्न सक्छु। म व्याक्तिगत खुशी अनुभव गर्न सक्छु र आफूलाई खुशी बनाउन सक्छु। हो म मेरो आफ्नो व्यक्तिगत खुसीमा मेरो देश देख्छु, मेरो सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरु देख्छु। म खुसी छु मेरो व्यक्तिगत जीवन मा । म सङ्ग खुशी हुन आवश्यक सबै कुरा छ। साथ दिने परिवार छन्, राम्रो जागिर छ र खुशी हुन लाएक पैसा पनि। तर पनि म किन दुखी छु। म किन सोच्छु मेरो देश, मैले त मेरो बारेमा सोचेर रमाउन पर्ने हो।
जब देशमा भएको भ्रष्टाचार, नेपाली माथि भएको गद्दारी, सत्तामा गएकाहरुको तानाशाही शासन, नेपाली माथिको दमन र स्वतन्त्र रहेको मेरो देशमा विदेशको इसाराले चलेको नेपाली राजनीति देखेर मेरो मन भक्कानेर आउँछ। म रुन्छु मेरो देशको युवाहरु विदेशिएको देखेर, म रुन्छु सत्ताधारी दलालहरुले नेपालीलाई बेचेको देखेर। म सोच्छु त्यो दिन जब हाम्रा सहिदहरु हाम्रो देशलाई बचाउनकै लागि पुरा जिन्दगि नै बलिदान दिएका थिय। अनि म अहिलेकै अवस्थामा फर्किन्छु र देख्छु भ्रष्टाचारीहरुले सोझा साझा नेपालीलाई झुक्काएर पाएको सत्तामा कसरी राज गरिरहेका छन्।
स्वदेशमा रोजगारीको अभाबको कारणले वार्षिक रुपमा लाखौं नेपाली विदेश जान बाध्य हुन्छन्। यता छोरा छोरी विदेशिएको देखेर बाबु आमाको मन कति रोला। केही गरम भन्नेले पनि गर्ने वातावरण छैन यहाँ। सत्ताधारी दलालहरु आफ्नै देशका नेपालीलाई बेचेर मानव तस्करी गर्दैछन्। आफू माथि उठ्नको लागि जनताको माथि टेक्दै छन्। भ्रष्टाचारीहरु सिर उचालेर हिँडिरहेको बेलामा सोझा साझा नेपालीहरु सिर निहुराई विदेशिएका छन्। म रुन्छु यो अन्याय देखेर। जहाँ नेपाली नेपाली बीच नै विभेद छ। धनीले गरिबलाई मान्छे गन्दैनन्। गरीब नेपालीहरु झन् गरिब हुँदैछन् भने धनी अझै धनी। जनताकै बीचमा गएर चुनाव जितेकाहरु गरिबको भोट देख्दैनन्। देख्छन् त मात्र धनिकै।
सरकारले ल्याएको सबै सेवा सुविधाहरू आफ्नै कार्यकर्ताका लागि मात्र भएको देखेर म कसरी खुसी हुन सक्छु र। मेरो देश जुन कसैको समु झुक्नु परेको थिएन त्यो देशलाई दलालहरुले आफु खुशी बेचिरहेका छन्। जनताको सेवा दिन भनेर राजसंस्था फालेर जनताको मन जितेर सत्तामा पुगेकाहरु अहिले आफ्नै बारेमा सोच्दैछन्, आफ्नै कार्यकर्ता बचाउन तिर लाग्दै छन्। यही देखेर जनताको विश्वास उठेको छ। जनताले यस्तो शासन चाहेकै हैन।
यही समयमा जनतालाई भड्काउन भनेर केही व्यक्तिको स्वार्थको लागि फेरी पुरानै शासन ल्याउन लागिपरेका छन्। तर यहाँ प्रश्न यो उठ्छ कि के फेरी पुरानै शासन अर्थात् राजतन्त्र फर्किदा मात्र यो देशको अवस्था परिवर्तन होला त? २४० वर्षसम्म चलेको राजतन्त्रको अवस्था हेर्ने हो भने मन डराएर आउँछ। फेरी त्यही शासन किन रोज्ने? के राजाको सन्तान भएकै भरमा मात्र देशको शासन चलाउन पाउनु पर्ने हो? उसको योग्यता के त? हो यही कुरा केही नेपालीले नबुझेर अहिले राजतन्त्र फेरी फर्काउने भन्दै हिँड्दै छन्। देशमा राजा फेरी फर्किए पनि शासन गर्ने यी तीन दलका नेताहरुले नै हो। त्यसै कारणले यहाँ न राजा न पार्टी, यहाँ त पुरा व्यवस्थानै परिवर्तन गर्नुपर्छ।
अर्कोतिर नेपालमा नेताहरुको आफू र आफ्ना कार्यकर्तालाई मात्र अगाडि लाने प्रवृत्तिले लाखौं नेपालीहरु रोजगारीको अभावमा विदेश पलायन हुनु परेको छ। र यो संख्या क्रमश बढ्ने क्रममा छ। आर्थिक वर्ष ०८१/०८२ मा मात्र पहिलो आठ महिनामै ५४४,४७० जना नेपाली विदेशिएका छन्। जसको मासिक औसत ६५–६७ हजार हुन जान्छ।
सरकारले युवाहरुलाई केन्द्रित गरेर गएको बजेट भाषणमा युवालाई बिना धितो रु २ लाखदेखि २० लाख सम्मको कर्जा सुविधा मात्र ३% ब्याजमा उपलब्ध गराउने, युवा उद्यमशीलता प्रोत्साहनको लागि वार्षिक कारोबार रु १० करोडसम्म भएका स्टार्टअपहरूलाई ५ वर्षसम्म आयकरमा छुट, CTEVT अन्तर्गत २६,९०० भन्दा बढी युवा लाई ६ महिनाभन्दा बढीको तालिम प्रदान गरिने, सार्वजनिक सेवा कार्यका लागि हप्तामा २० घण्टा काम गर्दै न्यूनतम पारिश्रमीक मासिक आम्दानी पाउने कार्य-अध्ययन कार्यक्रम सञ्चालन हुने जस्ता कुराहरू समावेश भएको छ। यस्ता विभिन्न कुराहरू पहिलेको बजेट भाषणमा पनि आउने गरेको थियो। तर त्यो त केबल आफ्ना कार्यकर्ताको लागि मात्र प्रदान गरियो र बाँकी सर्वसाधारण जनताको लागि पहुंच भन्दा माथि राखेर केहीले मात्र प्राप्त गरे। अहिलेको बजेट भाषण अनुसार सरकारले जुन युवाको लागि भनेर योजना अगाडि ल्याएको छ त्यो कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा त हेर्नै बाँकी छ।
केहि नेपालीहरु बिदेशिएका छन् र केहि गाउँ छाडेर सहर पस्न थालेका छन् । जसले गर्दा गाउँको स्थिति झनै बिग्रिदै छ। गाउँमा भएका खेतीयोग्य जमिन पनि जनशक्तिको अभावको कारणले बाँझो हुदै गैरहेको छ। गाउँमा बसेर खेति गर्ने मान्छे नै छैन भन्दा पनि हुन्छ। गाउँ दिनदिनै खालि हुँदै छ र शहर भरिदै छ । सबै शहर पस्न थालेका छन् जसले शहरमा पनि रोजगारीको अभाब छ र अन्त्यमा सबैले विदेशको बाटो रोझ्न थालेका छन्। त्यसै कारणले अब सबै नेपाली जुट्ने बेला आएको छ। सबै जुटेर यो पार्टी हैन व्यवस्थानै परिबर्तन गर्नुपर्छ। सबै आ-आफ्नो गाउँ फर्केर गाउँ बाटै नयाँ क्रान्ति गर्नुपर्छ, त्यो हो कृषि क्रान्ति। पहिले आफ्नो गाउँ बनाउनु पर्छ, हरेक गाउँ बनेपछि मात्र पुरा नेपाल बन्छ। सबैले आफ्नो योग्यता अनुसार काम गरि नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउनु पर्छ।
अर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनासम्मको तथ्यांक अनुसार आयात ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ र निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ रहेको छ। त्यसै कारणले हामीले स्वदेशलाई आत्मनिर्भर बनाइ आयात घटाई निर्यातलाइ बढाउनु पर्छ । अब सबै मिलेर नेपाल बनाउनुपर्छ। अनि म मात्र हैन सबै नेपाली खुशी हुनेछन।
– अञ्जना ढकाल
प्रतिक्रिया दिनुहोस