
विजय बरालको मुख्य भूमिका रहेको नेपाली फिल्म 'पूर्णबहादुरको सारङ्गी' ले घरेलु बक्स अफिसमा दसौं दिनसम्ममा करिब १८ करोड रूपैयाँको ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान राखेको छ।
वितरण कम्पनी 'ब्यांकटेस इन्टरटेनमेन्ट' का अनुसार, फिल्मले दस दिनमा कुल १७ करोड ९८ लाख रूपैयाँको कमाइ गरेको छ। आइतबारको व्यापार जोडिएपछि यो आँकडा १८ करोड नाघ्न सक्ने अनुमान छ।
फिल्मले काठमाडौँ उपत्यकाबाट ५२ प्रतिशत र मोफसलबाट ४८ प्रतिशत योगदान सहित व्यवसाय गरेको छ। वितरक मनोज राठीका अनुसार, आइतबार पनि करिब दुई करोड रूपैयाँको व्यवसाय हुनसक्ने आँकलन गरिएको छ।
फिल्मले देशभरका हलमा ४८० शो पाउँदै आएको छ, जुन नेपाली फिल्मको लागि अहिलेसम्मकै उच्च हो। आठौं दिनसम्म ११ करोड १० लाख रूपैयाँको ग्रस व्यापार गरेको फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख रूपैयाँको शानदार व्यापार गरेको थियो।
प्रतिक्रिया दिनुहोस