तीन जनालाई विदेशमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० का ३६ वर्षीया शारदा सुवेदी, र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोकका २५ वर्षीय सुरज कँडेल रहेका छन्।
प्रितिकाले एकजनालाई दुबई पठाउने बहानामा २ लाख रूपैयाँ लिएको, शारदाले एकजनालाई युके पठाउने भन्दै १ लाख रूपैयाँ लिएको, र सुरजले पनि युके पठाइदिने भन्दै १ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाएको छ।
प्रतिक्रिया दिनुहोस