
सत्तारूढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ।
आइतबार जरिवानापत्र लिएर च्यासलस्थित पार्टी कार्यालय पुगेको महानगरपालिकाको टोलीलाई आफूहरू जागरण सभाका आयोजक नभएको बताउँदै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो।
गत शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको आरोपमा महानगरपालिकाले जरिवानाको पत्र काटेको थियो। तर, जरिवानाको पत्र लिएर गएको महानगरको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता पठाएको छ।
महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार जरिवाना गराइएको जनाएको छ। तर, जरिवानाको निर्णयप्रति एमालेले चर्को आलोचना गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस