कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले १२० वटा महत्त्वपूर्ण उपकरणहरू ड्यामेज भएको जानकारी सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलनमा भने, "अर्बौंको सम्पत्ति ड्यामेज अवस्थामा भेटियो, यो अत्यन्त गम्भीर कुरा हो।" उनले जनशक्तिको अभावका कारण उपकरण नचलिरहेको र भविष्यमा अति आवश्यक उपकरणबाहेक नयाँ खरिद नगर्ने स्पष्ट पारे।
मन्त्री राईले औषधि खरिद प्रक्रियामा ढिलाइको कारण आर्थिक वर्षको अन्त्यमा म्याद सकिन लागेको औषधिमा ७०% बढी कमिसन आउने गरेको दाबी गरे।
स्वास्थ्य मन्त्रालयमा १२४ कर्मचारीको अभाव रहेको बताउँदै, मन्त्री राईले "प्राविधिक जनशक्तिको अभाव अत्यधिक छ" भन्दै पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए।
मन्त्री राईले मन्त्रालयमा ४१ करोड ३९ लाख रुपैयाँ बेरुजु रहेको पनि सार्वजनिक गरे। मन्त्रालयले २४ अस्पताललाई स्वीकृति दिएको, जसमा १४ अस्पतालले नवीकरण गरेका छन्, भने २३ नयाँ अस्पतालले स्वीकृतिका लागि निवेदन दिएका छन्।
मन्त्रालय मातहतमा १७ एम्बुलेन्स, ४५ गाडी र ११२ मोटरसाइकल रहेका छन्, जसमा केही उपकरण सञ्चालनमा नरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस