८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हर्क साम्पाङ द्वारा पत्रकारहरूलाई धम्की

हर्क साम्पाङ (हर्कराज राई) द्वारा पत्रकारहरूलाई धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।



Harka Sampang
  • Sangeeta Gurung
  • ३ हप्ता अघि
  • पाठक संख्या ९३
  • काठमाडौं – नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) द्वारा पत्रकारहरूलाई धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

    खोज पत्रकारिता केन्द्र (खोपके) का पत्रकार गोपाल दाहालले साम्पाङसम्बन्धी समाचार प्रकाशित गरेपछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत धम्कीपूर्ण स्ट्याटस लेखेका थिए।

    उनले आफ्नो स्ट्याटसमा “खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिन्छ भने मेरो नाम हर्क साम्पाङ होइन,” भनेका थिए।

    महासंघले सार्वजनिक पद धारण गर्ने जिम्मेवार व्यक्तिबाट यस्तो कार्य निन्दनीय भएको र प्रेस स्वतन्त्रतामाथि ज्यादती भएको ठहर गरेको छ।

    महासंघले समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रियामा जान सकिने प्रावधान भएको स्मरण गराउँदै सार्वजनिक पदाधिकारीबाट यस्तो अभिव्यक्ति प्रेसको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको बताएको छ। महासंघले घटनाको पुनरावृत्ति रोक्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

    त्यस्तै, चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमणको घटनाप्रति पनि महासंघले आपत्ति जनाएको छ। मंसिर १९ गते सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको विरोधमा प्रदर्शन गर्ने क्रममा पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य सन्तोष देउजामाथि निर्घात कुटपिट गरेका थिए। सो क्रममा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवालमाथि दुर्व्यवहार भएको थियो।

    महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि भएको यस्तो हिंसात्मक कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। महासंघले घटनामा संलग्नहरूमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारहरूलाई सुरक्षित रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ।