झापा — झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा ८३ वर्षीया वृद्धा फुलमाया मुर्मुको हत्या भएको छ। प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
२२ मंसिरको साँझ साढे ४ बजेतिर वृद्धा फुलमाया आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका लागि झापा प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली खटिएको थियो। अनुसन्धानका क्रममा वृद्धाको टाउको र चिउडोमा प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको कलको ह्याण्डिल र फरुवा बरामद गरेको छ। साथै, हत्या पछि लुटिएको मोबाइल र साइकल पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस