रोल्पा, साउन २८ - रोल्पाको थबाङ गाउँपालिका–५ बोटबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार राति आएको पहिरोमा ६ वटा घर तथा गोठ पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर रहेका छन्।
पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका १० जनामध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेसँगै हाल ९ जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन्।
बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खसेपछि घटना भएको हो। प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस