काठमाडौं, साउन २८ - नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारपछि बिहीबार नेपाल फर्किएका छन्। सिंगापुरमा उपचार गराएर थाइ एयरवेजमार्फत काठमाडौं आएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।
देउवा विमानस्थलमा आइपुग्दा स्वागतका लागि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता उपस्थित भएका थिए। उनको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो।
देउवाको आगमनलाई लक्षित गर्दै विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका कारण विमानस्थल आसपासको क्षेत्र केही समय भीडभाड भएको थियो।
देउवा गत फागुनमा थप उपचारका लागि सिंगापुर गएका थिए। लामो समय सिंगापुरमा उपचार गराएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन्।
यसअघि गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी देउवा घाइते भएका थिए। त्यसपछि उनको उपचार विभिन्न चरणमा हुँदै आएको थियो।
देउवा स्वदेश फर्किएसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। उनको स्वागतका लागि कांग्रेसका नेता–कार्यकर्ताले देखाएको उत्साहले पनि पार्टीभित्र उनको प्रभाव र सक्रियताप्रतिको चासो देखाएको छ।
प्रतिक्रिया दिनुहोस