काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी मंसिर २९ गते ३०औं महानगर दिवस मनाउने भएको छ। यस अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिने जानकारी आज पत्रकार सम्मेलन मार्फत दिइएको छ।
महानगर दिवसको मूल समारोह समितिको संयोजकत्व काठमाडौँका मेयर बालेन शाहले गर्नुभएको छ। २०५२ सालदेखि मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाइँदै आएको हो।
महानगरले विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचनको आयोजना गर्नेछ। त्यस्तै, मंसिर २७ गते मेयर बालेन शाहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिनेछ।
मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा र गुठीखलका गुरुहरूको सम्मान गर्ने छ भने, शिक्षा विभागले आयोजना गरेको प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम पनि राखिएको छ।
महानगर दिवसको मुख्य समारोह मंसिर २९ गते आयोजित हुनेछ, जसमा काठमाडौँ महानगरका सबै वडाका प्रतिनिधिहरू सहभागी हुने गरी फुड फेस्टिवलको आयोजना समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस