काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ३० बलमा ३ चौका र ३ छक्काको मद्दतले उक्त रन बनाएका हुन्। अर्जुन घर्तीले २५ रन र बाबर हायतले २० रन जोडे।
लुम्बिनी लायन्सका बलरहरूले प्रभावकारी प्रदर्शन गरेका थिए। विकास आग्रीले आफ्नो एनपीएल डेब्युमा ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिए। पहिलो पटक एनपीएल खेलिरहेका यी दुई बलरले मिलेर ५ विकेट झारे।
अब लुम्बिनी लायन्सले १२९ रनको लक्ष्य पछ्याउँदै खेल्नेछ। खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस