१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

३०औं महानगर दिवसका अवसरमा टुँडिखेलमा सांगीतिक प्रस्तुति, चर्चित कलाकारको सहभागिता

शनिबार दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा नेपाली संगीतका प्रतिष्ठित र चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११८
  • काठमाडौं - महानगरपालिकाले ३०औं महानगर दिवसको अवसरमा आगामी मंसिर २९ गते टुँडिखेल मैदानमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

    शनिबार दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा नेपाली संगीतका प्रतिष्ठित र चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। महानगरपालिकाले सार्वजनिक गरेको लाइनअपमा दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एण्ड बाजागाजा, अस्मिता अधिकारी, रचना रिमाल, उर्गेन दोङ, केहर एण्ड जोय, कुमा सागर एण्ड द ख्वप, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, बाबुकृष्ण परियार, सुजिल कर्माचार्य, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे र सन्दीप विष्ट जस्ता कलाकारको सहभागिता रहनेछ।

    कार्यक्रम निःशुल्क हुनेछ भने यस अवसरमा स्थानीय मौलिक झाँकीहरूको प्रदर्शनी, ख्यातिप्राप्त व्यक्तिहरूको सम्मान, सांस्कृतिक पहिचान झल्काउने खानाको प्रवर्द्धनका लागि फुड स्टलहरूको व्यवस्था गरिनेछ। साथै, “एक वडा एक नमुना उद्यम” कार्यक्रम अन्तर्गत उत्पादित सामग्रीहरूको प्रदर्शनीसमेत गरिनेछ।

    २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ।

    यस वर्षको कार्यक्रमको व्यवस्थापन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मूल समारोह समितिले गरिरहेको छ। समितिमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजकहरूले सहकार्य गरिरहेका छन्।

    महानगरपालिकाले यसपटकको दिवसलाई थप विशेष बनाउन प्रयासरत रहेको बताएको छ।