काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका श्रेष्ठलाई काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले उनलाई पक्राउ गरेको हो,” उनले भने।
श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। आयोगको अनुसन्धान अनुसार, कर्जा प्रवाहको क्रममा अख्तियार दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी पुर्याएको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो।
१३ वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरेपछि सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस