काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्।
प्रहरीका अनुसार उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार भइरहेको छ।
कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामबाबु ओलियाले अनुसन्धान प्रतिवेदन तयार गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन्। एसपी ओलियाका अनुसार, लामिछानेविरुद्धको प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयमा पेस गरिनेछ।
नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, किर्ते, र संगठित अपराधसम्बन्धी मुद्दा दायर गर्न रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ। संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको निष्कर्ष निकालिसकेको छ।
यसअघि, अपचलनमा संलग्न भएको आरोपमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, र कृष्ण गुरुङ पक्राउ परिसकेका छन्। जोशी असोज ६ गते पक्राउ परेका थिए। कानुनअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ९० दिनभित्र अदालतमा दर्ता गरिसक्नुपर्ने भएकाले पुस ५ भित्र अभियोगपत्र दर्ता गरिनुपर्ने सरकारी बाध्यता छ।
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा, र सानोपाइला सहकारीबाट जम्मा ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ। सूर्यदर्शन सहकारीबाट मात्र गोरखा मिडियामा ५ करोड ५८ लाख रुपैयाँ लगेको भेटिएको छ।
प्रहरीले सोमबार प्रतिवेदन पेस गरेपछि कानुनी प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस