२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षिकाको कुटाइबाट विद्यार्थीको आँखा गुम्यो

कक्षाकोठामा भएको झगडा छुट्याउने क्रममा ६ वर्षीय प्रशान्त चौधरीलाई प्लास्टिकको लठ्ठीले हानेपछि उनको बायाँ आँखा फुटेको हो।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २५७
  • नवपरासीमा, पुस २८ - पश्चिम नवलपरासीको प्रतापपुरमा एक शिक्षिकाको कुटाइबाट युकेजीमा पढ्ने विद्यार्थीको आँखा गुमेको छ। प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले कक्षाकोठामा भएको झगडा छुट्याउने क्रममा ६ वर्षीय प्रशान्त चौधरीलाई प्लास्टिकको लठ्ठीले हानेपछि उनको बायाँ आँखा फुटेको हो।

    गत मंसिर १८ गते भएको यो घटनाबारे ढिलो उजुरी परेपछि मात्र सार्वजनिक भएको हो। पुस १९ गते प्रहरीमा उजुरी दर्ता भएसँगै अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ तर शिक्षिका सन्जु चौधरी हाल फरार रहेको प्रहरीले जनाएको छ।

    विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ताका अनुसार कक्षामा दुई विद्यार्थीबीच झगडा भएपछि शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन्। उक्त घटनामा प्रशान्तको आँखामा गम्भीर चोट लागेको थियो।

    घटनापछि विद्यार्थीलाई गोपीगञ्ज बजार, भैरहवा र काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचार गराइएको थियो। चिकित्सकले प्रशान्तको आँखाको नानी फुटेकाले अब जीवनभर देख्न नसक्ने बताएका छन्। थप दुईवटा अप्रेसन गर्नुपर्ने बताइएको छ।

    प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। हालसम्म शिक्षिका पक्राउ परेकी छैनन्। प्रहरीले शिक्षिकाको खोजी कार्य जारी राखेको जनाएको छ।