२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धापाखेलमा पार्क गरिएको कारमा आगलागी

धापाखेल गैह्रीधारामा पार्क गरेर राखिएको कारमा आज बिहान करिब ३ बजे आगलागी भएको हो।



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १६३
  • ललितपुर, पुस २८ – ललितपुर महानगरपालिका-२३ धापाखेल गैह्रीधारामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ। बागमती प्रदेश ०१२-०२८ च २४६३ नम्बरको उक्त कारमा आज बिहान करिब ३ बजे आगलागी भएको हो।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको सूचना पाएपछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षक प्रशान्त राईको नेतृत्वमा १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए। दुइटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ। उक्त कार वीरगन्ज घर भएकी र हाल सोही स्थानमा बसोबास गर्ने कल्पना बुढाथोकीको रहेको जनाइएको छ।

    आगलागीका कारण नजिकै रहेको टहरामा पनि पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीयहरूले कसैले कारमा आगो लगाइदिएको हुनसक्ने अनुमान गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक राईले जानकारी दिएका छन्।