८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुरमा श्रीमानको हत्या: बीमा रकम हत्याउन श्रीमती र भारतीय नागरिकको मिलेमतो

बेलौरी नगरपालिका–६ भूराकोटमा आफ्नै घरभित्र मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारीले गराएको खुलेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १४०
  • धनगढी, माघ ३ - दुई महिना अघि कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा आफ्नै घरभित्र मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारीले गराएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बीमा रकम हत्याउने उद्देश्यले जनककुमारीले भारतीय नागरिक फारुखको सहयोगमा उक्त हत्या गराएकी हुन्।

    १३ मंसिरमा मृत फेला परेका रानाको घटनाको अनुसन्धान गर्दै प्रहरीले उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ। भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर निवासी फारुखलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले घटनाको अनुसन्धानबाट सियारामको हत्या जनककुमारी र फारुखको मिलेमतोमा भएको पुष्टि भएको बताए। जनककुमारीले बीमा रकम हत्याउने उद्देश्यले आफ्नै श्रीमान्को हत्या गरेको स्वीकारोक्ति दिएकी छन्। सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको बीमा गराएका थिए।

    प्रहरीका अनुसार जनककुमारी र फारुखको चिनजान तस्करीको कामको सिलसिलामा भएको थियो। हत्या पश्चात् उनीहरुले शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। तर, शव घरको ग्यालरीमा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। शवको टाउको र तालुमा चोट देखिएपछि घटना शंकास्पद मान्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।

    अनुसन्धानका क्रममा रानाको घरमा रगत लागेको ईंटा, रगतले भिजेका कपडाहरू लगायत प्रमाणहरू भेटिएका थिए। जनककुमारीले विवादका क्रममा श्रीमान्को टाउकोमा ईंटा प्रहार गरी हत्या गरेको बयान दिएकी छन्। जिल्ला अदालतले जनककुमारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने फारुखविरुद्ध थप अनुसन्धान जारी रहेको छ।