२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘नो केबलकार समूह’द्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

‘नो केबलकार समूह’ले पाथीभरा क्षेत्रमा भएको झडपको विरोधमा मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३०४
  • मोरङ, माघ १५ - ‘नो केबलकार समूह’ले माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विरोधमा मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन्।

    आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताहरूले मोटरसाइकल र अटो सञ्चालनमा समेत रोक लगाएका छन्। मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्मको क्षेत्र प्रभावित भएको छ।

    यस्तै, तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ, पाँचथर र धनकुटाको मूलघाटसम्मको क्षेत्रमा यातायात ठप्प छ। मूलघाट हुँदै धनकुटाको भेडेटार, धरान र चतरा जोडिने बाटोमा समेत बन्दको प्रभाव परेको छ।

    बन्द आह्वान गर्ने समूहमा मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाहरू रहेका छन्।

    उनीहरूले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, झडपमा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने र माघ १२ गते पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई रिहा गर्नुपर्ने माग राखेका छन्।

    प्रहरीले काफ्लेपाटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।