बाँके, साउन २५ - नेपालगन्जमा बजार अनुगमनका क्रममा लुकाएर राखिएका १३ वटा खाना पकाउने ग्यास सिलिन्डर फेला परेपछि एक किराना पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको हो।
स्थानीय प्रशासनका अनुसार बजारमा ग्यास लुकाएर राखिएको सूचना प्राप्त भएपछि अनुगमन टोली उक्त पसलमा पुगेको थियो। त्यस क्रममा बिक्रीका लागि उपलब्ध नगराई १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको फेला परेको थियो।
ग्यास अभाव देखिएको समयमा उपभोक्तालाई समस्या पार्ने गरी सिलिन्डर लुकाएर राखेको पाइएपछि पसल सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए।
अनुगमनका क्रममा उक्त किराना पसलबाट उपभोगका लागि अनुपयुक्त केही सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ। बजारमा ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारीसम्बन्धी गुनासो बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ।
केही दिनदेखि नेपालगन्जसहित बाँकेका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ। यही अवस्थामा ग्यास लुकाएर राख्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि प्रशासनले निगरानी बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस