विराटनगर, माघ २० - ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका ‘नो केबलकार’ समूहका १४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाको दमकबाट ८ जना र सुनसरीको धरानबाट ६ जना रहेका छन्।
गत माघ १२ गते केबलकार निर्माणमा अवरोध गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका थिए। त्यस क्रममा प्रहरीले गोली चलाउँदा यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा घाइते भएका थिए, जसको अहिले काठमाडौंमा उपचार भइरहेको छ।
यस घटनाको विरोधमा ‘नो केबलकार’ समूहले कोशी प्रदेश बन्दको आह्वान गरेको थियो। आन्दोलनकारीहरूले केबलकार निर्माण स्थगित गर्न, सशस्त्र प्रहरी फिर्ता गर्न, तथा पक्राउ परेका समर्थकहरूको रिहाइको माग गर्दै आएका छन्।
बन्दका कारण ताप्लेजुङ र पाँचथरमा पूर्ण प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। संखुवासभा, इलाम, धनकुटा, तेह्रथुम, झापा, सुनसरी, र मोरङमा आंशिक प्रभाव देखिएको छ भने उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा, र सोलुखुम्बुमा खासै असर परेको छैन।
बन्दकै क्रममा झापाको दमकमा झडप भएको छ। गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब १०० जनाले टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेका थिए, जसका कारण मे१च ५१६१ नम्बरको स्कोरपियो गाडीमा क्षति पुगेको छ।
स्थिति नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको एसपी दीपक पोखरेलले जानकारी दिए। पक्राउ परेकाहरूलाई अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार अघि बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस