९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाथीभरा केबलकार विवाद : समाधानका लागि आज पनि वार्ता हुँदै

यस विवाद समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १२७
  • काठमाडौँ, माघ  २२ - ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारसम्बन्धी विवाद समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच आज पनि वार्ता बस्ने भएको छ। सोमबार ललितपुरस्थित हिमालय होटलमा भएको वार्ता सकारात्मक रहेको बताइए पनि ठोस सहमति भने जुट्न सकेको छैन।

    आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङका अनुसार वार्ता आज बिहान ११ बजे पुनः सुरु हुनेछ। उनले आफूहरूले तीन प्रमुख माग राखे पनि सरकारी पक्ष सहमत नभएको बताए।

    "हामीले केबलकार निर्माण कार्य तत्काल स्थगित गर्ने, वार्ता समूहलाई स्थगन गर्ने, तथा पक्राउ परेकाहरूको रिहाइ र घाइतेहरूको उद्धार गर्ने माग गरेका छौँ। तर, सरकार ती मागमा सहमत हुन तयार छैन," उनले भने।

    यस विवाद समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा सहरी विकास मन्त्रालयका प्रतिनिधि सहभागी छन्।

    यता, आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ। सोमबार गठन गरिएको समितिमा संयोजक तुम्याहाङसहित शंकर लिम्बू, राम मादेन र सरस्वती सिंगक (सह) सदस्य रहेका छन्।

    पाथीभरा क्षेत्रमा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन जारी छ। पूर्वी नेपालका नौ जिल्लामा यातायात बन्दसहितको आन्दोलन हुँदै आएको छ।