२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लगानीकर्ताको मनोबल खस्किँदा सेयर बजारमा निरन्तर गिरावट, नेप्से ३५ अंकले घट्यो



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४०
  • काठमाडौं, साउन २४ - लगानीकर्ताको कमजोर मनोबलका कारण सेयर बजारमा लगातार दबाब देखिएको छ। सरकारले बजार सुधारका लागि प्रयास गरे पनि अपेक्षित सुधार आउन नसक्दा नेप्से ओरालो लागेको हो।

    साउनको तेस्रो साता पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढ्यो भने चार दिन घट्यो। साताभर नेप्से ३५.४३ अंकले घटेर शुक्रबार २ हजार ६५७.४४ विन्दुमा बन्द भयो। अघिल्लो साता पनि नेप्से ४९.०४ अंकले घटेको थियो।

    यो साता कुल २१ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। अघिल्लो साताको तुलनामा कारोबार रकम केही घटेको छ। बजार पुँजीकरण पनि एक सातामै करिब ६० अर्ब ९२ करोड रुपैयाँले घटेर ४५ खर्ब ५४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ।

    समग्र बजार घटे पनि केही कम्पनीका सेयरमा भने सकारात्मक सर्किट लागेको छ। सोलु हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर र एभरेस्ट कलरलगायतका कम्पनीमा उल्लेख्य कारोबार तथा वृद्धि देखिएको छ। १३ उपसमूहमध्ये ७ समूह घट्दा ५ समूह बढेका छन्।

    यसैबीच, नेपाल धितोपत्र बोर्डले आईपीओको मूल्य निर्धारणलाई थप प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको छ। कम्पनीको वास्तविक मूल्य, लगानीकर्ताको माग र बजार संकेतका आधारमा मूल्य निर्धारण गर्ने तथा बुक बिल्डिङ प्रणालीलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ।

    दोस्रो बजार सुधारका लागि सेबोनले मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा सर्ट सेलिङजस्ता नयाँ उपकरण सञ्चालनबारे अध्ययन गर्न समिति गठन गरेको छ। उता, प्रतिनिधिसभा बैठक चलिरहेका बेला सांसदहरूले मोबाइल वा ल्यापटपबाट सेयर कारोबार गर्न नपाउने निर्देशन सभामुख डोलप्रसाद (डीपी) अर्यालले दिएका छन्।