मलाई मेरो बाल्यकालकै गाउँ प्यारो लाग्छ।
ती कच्ची बाटो, ती रुखका शितल हावा, हाँस्दै, गाउँदै कोदो र धान काट्ने मेरा प्यारा छिमेकी। हो मलाई मेरो पुरानै गाउँ असाद्दै मन पर्छ। अहिले न त्यो कच्ची बाटो छ, न सितल हावा दिने रुख, न त सँगै खेतबारीमा काम गर्ने मेरा छिमेकी वा साथीभाईहरु नै।
अहिले मेरो गाउँको बाटो पिच भएको छ, जहाँ म मेरा साथीभाई संग ढुङ्गा माटो खेल्ने गर्थे। बाटो सबैको घर घरमा पुर्याउन ती रूखहरू काटिएका छन्, जसको सितल हावाले मेरो मन आनन्दित हुन्थ्यो। म सँगै गाउँ बेसी गर्ने छिमेकीहरु आफ्नो घर जग्गा छाडेर सहर पसेका छन्। र मेरा प्यारा साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्।
सहरमा सुविधा र रोजगारीको अवसर खोज्दै बाहिरिएका मेरा छिमेकी र साथीहरु निरास हुँदै विदेश जानुपरेको देखेर मेरो गाउँ रोइरहेको छ। त्यसैले मलाई मेरो वाल्यकालको गाउँ नै प्यारो लाग्छ । जतिबेला म मेरा साथीहरू सङ्ग बाख्रा चराउँदै ढुंगा माटो खेल्ने गर्थे। छिमेकीहरु संग गफ गर्दै काम गरेर थाकी रूखको सितल छायाँमा बसेर आफ्नो थकान मेटाइन्थ्यो। अहिले न त्यो रूख छ, न ती बलापन, न त ती साथीभाई र छिमेकी नै।
उच्च शिक्षा र रोजगारीका लागि गाउँबाट सहर पस्ने प्रचलन बढ्दै गइरहेको छ। यसको कारणले मेरो गाउँ मात्र नभएर सबै गाउँहरू रितिदै छन्। गाउँमा समेत घर घरमा बाटो चाहिने प्रवृतिले गर्दा ती जङ्गलहरू फडानी भइरहेको छन, जसले हरियो वन नेपालको धन भन्ने सुन्नमा मात्र हो जस्तो लाग्छ। गाउँलेहरु अहिले सहर पस्न थालेका छन् । तर सहरमा पनि रोजगारीको अभावले वार्षिक लाखौं नेपालीहरु विदेशिने गरेका छन्।
गुणस्तर शिक्षा र रोजगारीको व्यवस्था गरिएन भने अहिले गाउँ रितिएको जसरी नेपाल रितिन्छ र पुरानो गाउँ सम्झनेहरु कुन दिन पुरानो देश सम्झने अवस्था आउँछ । वार्षिक रुपमा लाखौं नेपालीहरु विदेशिने क्रम रोक्नका लागि नेपाल सरकारले बेलैमा यसको समाधान खोज्नुपर्छ। सधैं कुर्सीको लागि लडिरहने हो भने हाम्रो देश नेपालमा नेपाली हुने छैनन्, हुनेछन त मात्र कुर्सी तान्नेहरु।
प्रतिक्रिया दिनुहोस