काठमाडौं, फागुन २७ - समाजवादी मोर्चाले गणतन्त्रविरोधी गतिविधिको विरोध गर्दै आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो समय गणतन्त्रविरुद्ध षड्यन्त्र सुरु भएको ठहर गर्दै त्यसको प्रतिकारस्वरूप प्रदर्शनको तयारी गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए।
बैठकमा राजतन्त्र पुनर्स्थापनाका पक्षमा भइरहेका गतिविधिलाई आपत्तिजनक भन्दै त्यसविरुद्ध सशक्त प्रतिवाद गर्न अपिल गरिएको छ।
प्रवक्ता प्रकाण्डले भने, "नेपाली जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई पुनःस्थापना गर्ने प्रयास आफैंमा आपत्तिजनक छ। देशलाई प्रतिगमनतर्फ धकेल्ने हर्कत स्विकार्य छैन।"
२५ फागुनमा काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनपछि समाजवादी मोर्चाले त्यसलाई गम्भीर रूपमा लिएको स्पष्ट पारेको छ।
प्रवक्ता प्रकाण्डले भने, "हामी डराएका छैनौं, तर गम्भीर भएका छौं। गणतन्त्रविरुद्ध षड्यन्त्र बुन्दै गर्दा हामी चिन्तित छौं र आक्रोशित पनि छौं। त्यसैले सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छौं।"
समाजवादी मोर्चाका नेताहरूले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर प्रतिगमनविरुद्ध संघर्ष गर्न सबैलाई आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस