काठमाडौँ, चैत्र १७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच महिनापछि पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा झेलिरहेका लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।
पार्टीको सचिवालय बैठकले पुस ८ गते कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो। तर, सोमबार बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि लामिछाने पुनः सभापतिको भूमिकामा फर्किने भएका छन्।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा पहिलो चरणमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्नेछन् भने दोस्रो चरणमा सभापति लामिछानेको अध्यक्षतामा बैठक बस्नेछ। "बैठकको एजेन्डा उहाँले नै पेस गर्नुहुन्छ, तर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने विषय भने छैन," बुर्लाकोटीले बताए।
लामिछाने पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको अध्यक्षता उपसभापति अर्यालले गरेका थिए। शनिबार सम्पन्न सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो।
सरकारले रवि लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। पर्सा जिल्लामा भने अनुसन्धान जारी रहेको छ। चार जिल्ला अदालतहरूले गरी कुल २ करोड ७९ लाख धरौटी रकममा उनलाई छाड्ने आदेश दिएका थिए।
प्रतिक्रिया दिनुहोस