३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डढेलोमा परी एक युवतीको मृत्यु, चार घाइते

ताम्राखुमा वनमा लागेको डढेलोका कारण एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २५७
  • पाँचथर, चैत्र २२ – पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोका कारण एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    डढेलोका कारण सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    प्रहरीका अनुसार, बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जंगल गएका थिए। आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरू डढेलोमा परेका थिए।

    घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। तर, प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ।

    डढेलो अझै नियन्त्रणमा नआएको र आगो वस्तीमा फैलिने खतरा रहेको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले बताएका छन्। आगो निभाउने क्रममा स्थानीय खगेन्द्र विकसमेत घाइते भएका छन्।

    यस्तै, फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, दाउरा बोक्ने क्रममा उनी डढेलोमा परेकी हुन्। उनको समेत धरानमै उपचार भइरहेको छ।