जनकपुरधाम, साउन २९ - सिराहामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन्।
प्रहरीका अनुसार यादव २०४१ साल वैशाख १ गते खरुक्याहीमा लागेको वैशाखे मेलाका क्रममा भएको हत्या घटनामा संलग्न थिए। मन्दिरमा बोका चढाउने विषयमा विवाद भएपछि यादवसहित ११ जनाले रजिन्द्र यादवलाई घेरा हालेर कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि यादवसहितका प्रतिवादीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको थियो। उक्त मुद्दामा उच्च अदालतले यादवलाई एक वर्ष कैद सजाय सुनाएको थियो। सजाय तोकिएपछि उनी फरार रहँदै आएका थिए।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका यादवले पहिचान लुकाउन गाउँकै शिवमन्दिरमा पुजारीको भेष धारण गरेर बस्दै आएको खुलेको छ। प्रहरीले बिहीबार उनलाई मन्दिरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
पक्राउपछि यादवलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिराहामा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त हत्याकाण्डमा संलग्न अन्य फरार प्रतिवादीहरूको भने मृत्यु भइसकेको छ। ४३ वर्षपछि यादव पक्राउ परेसँगै पुरानो कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीमाथिको कानुनी प्रक्रिया अघि बढेको छ।
प्रतिक्रिया दिनुहोस