काठमाडौं, साउन २९ - गृहमन्त्री सुधन गुरुङले कुनै व्यक्तिमाथि परेको उजुरीकै आधारमा उनलाई दोषी ठहर गर्न नमिल्ने बताएका छन्। उनले आरोप प्रमाणित नभएसम्म कसैलाई दोषी करार गर्नु न्यायोचित नहुने स्पष्ट पारे।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिनको माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।
गृहमन्त्री गुरुङले उजुरी वा आरोप आउँदैमा त्यसलाई सत्य मानेर कसैलाई दोषी घोषणा गर्न नमिल्ने धारणा राखे। उनका अनुसार आरोपको निष्पक्ष छानबिन र त्यसबाट प्राप्त प्रमाणका आधारमा मात्रै दोषी वा निर्दोषको निष्कर्षमा पुग्नुपर्छ।
उनले भने, ‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन।’ आरोप लगाउन सकिने भएकै आधारमा कुनै व्यक्तिको चरित्रमाथि प्रश्न उठाउन वा बदनाम गर्न नहुने उनको भनाइ थियो।
सांसद सुनारले लेखा समितिको बैठकमा प्रहरी पोसाक खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै आईजीपीमाथि छानबिनको माग गरेका थिए। सोही अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै गृहमन्त्रीले आरोपको पुष्टि हुनुअघि नै कसैलाई दोषीका रूपमा प्रस्तुत गर्न नमिल्ने बताएका हुन्।
गृहमन्त्री गुरुङले छानबिन तथा प्रमाणबाट आरोप पुष्टि भएमा कानुनअनुसार प्रक्रिया अघि बढ्ने तर प्रमाणबिनै व्यक्तिलाई दोषी ठहर गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस