काठमाडौं, साउन २९ - नयाँ पार्टी गठनका लागि सहकार्य गरेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच दुई महिनामै दूरी बढेको छ। राणा पक्षले आज निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको छ भने प्रसाईं पक्षले छुट्टै पार्टी बनाउने तयारी थालेको छ।
राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी पार्टी गठन गर्ने सहमति भए पनि नेतृत्वको वरीयता र कार्यकारी अधिकारको विषयमा विवाद बढेको थियो। प्रसाईंले आफूलाई पहिलो वरीयतामा राख्नुपर्ने माग गरेपछि दुई पक्षबीच मतभेद चर्किएको बताइएको छ।
प्रसाईंले एक युट्युब अन्तर्वार्तामा राणाको आलोचना गरेपछि सहकार्यको सम्भावना थप कमजोर बनेको थियो। प्रसाईं पक्षका केही नेताले पार्टी दर्ता केही समयपछि गर्नुपर्ने प्रस्ताव गरे पनि राणा पक्षले निर्धारित मितिमै दर्ता गर्ने अडान लिएको थियो।
प्रसाईं पक्षका नेता माधव कल्पितले आफूहरू एकताकै पक्षमा रहे पनि तत्काल पार्टी दर्ता गर्ने विषयमा सहमति हुन नसकेपछि अलग हुनुपरेको बताएका छन्। अब प्रसाईंको नेतृत्वमा नयाँ पार्टी गठन हुने उनले जानकारी दिएका छन्।
प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत नयाँ पार्टी गठनको संकेत गर्दै केही समय धैर्य गर्न आग्रह गरेका छन्। उनले नयाँ पार्टीलाई सबै नेपाली नागरिकको साझा पार्टी बनाउने दाबी गरेका छन्।
यसअघि ‘जय नेपाल पार्टी’को १०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी थियो। राणा र प्रसाईं पक्षबाट ४०–४० जना तथा अन्य २० जनालाई समेट्ने सहमति भए पनि विवादपछि राणा पक्षले मात्रै केन्द्रीय कमिटी गठन गरेको बताइएको छ। यता राणा पक्षले भने प्रसाईं समूहसँग अझै संवाद भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस